
धनकुटा । नेपाली सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सुनसरीको विजयपुरगढीदेखि धनकुटाको पाख्रीबाससम्म पदयात्रा सुरु गरेको छ ।
सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरु भएको पदयात्रा धनकुटाको साँगुरीगढी, बेलहरा, उत्तरपानी हुँदै पाख्रिबासमा पुगेर समापन हुने छ । पदयात्राको पहिलो दिन आइतबार धनकुटाको साँगुरीगढीमा आएर एक कार्यक्रम आयोजना गरिएको थियो ।
सोही अवसरमा खुल्ला पुरुष र महिलातर्फ १० किलोमिटर तथा १६ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा खुल्ला पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै ५ किलोमिटर विद्यार्थी महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कारसतिह प्रमाणपत्र प्रदान गरिएको छ ।
उनीहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरव कुमार केसी, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जिल्ला समन्वय समिति उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिका प्रमुख भिमादेवी खनाल, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, धनकुटाका इतिहास विद डा. गोपाल बहादुर भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

साँगुरीगढी जहाँ एउटा यस्तो थलो रहेको छ, जुन नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमान्डर अभिमानसिंह बस्नेतले वि.सं. १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाइ नियन्त्रणमा लिएर त्यहीँबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो ।

त्यसो त कोशी राजमार्ग निर्माण हुनुपूर्व पूर्वी पहाडी क्षेत्रका नागरिक हिँडेर ढाकरमा नुन, तेल लिनलाई धरान जाने मुख्य नाका पनि यही हो । यसैलाई आधार मानेर नेपाली सेनाले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पदयात्रा सुरु गरेको हो । सेनाले कला, संस्कृति तथा धार्मिक र पर्यटकीय स्थलको संरक्षणका साथ पदयात्रालाई महत्वपूर्ण रूपमा लिएको जनाएको छ ।

यस्तै पदयात्रा दोस्रो दिन साँगुरीगढिदेखी पुनः पदयात्रा सुरु भएको छ । पुस ३० गते पाख्रीबासमा पुगेर पदयात्रा समापन हुने छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले बताए ।

ऐतिहासिक रूपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले पदयात्रा गरिएको उनले बताए । पदयात्रामा धनकुटा र धरानका सरोकारवाला, पर्यटन व्यवसायी, स्थानीय तथा नेपाली सेनाको सहभागिता छ ।



सन्तोष सुवेदी/संगालोखबर 
















