
विराटनगर । विराटनगर महानगरपालिकाले जेनजी आन्दोलनको कारण देखाउँदै चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
आज भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरूप असुल हुन नसक्नुलगायतका कारण प्रक्षेपण गरिएको भन्दा महानगरको आय न्यून हुने देखिएको छ । जसका कारण चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
‘वडास्तरीय बाहेकका विषय क्षेत्रगत तथा नगरस्तरीय योजना/कार्यक्रम समायोजन हुनेगरि संशोधित बजेट तथा कार्यक्रम गर्न चाहन्छु’, १७ औं अधिवेशनमा उपमेयर कार्कीले प्रस्तुत संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८.९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको छ ।
यसैगरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २ सय ८४ रुपैयाँ अर्थात १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
खर्चमध्ये पूँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ ।
यसैगरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय संकलन भएको उपमेयर कार्कीले बताइन् ।
त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ ।
प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ । संघसंस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ । यसैगरी गत वर्षको मौज्दात १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ ।

संगालोखबर 
















