
धनकुटा । नेपाली सेनाले ऐतिहासिक उदयपुर-चौदण्डीगढी पदयात्रा सुरु गरेको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले बुधबारबाट पदयात्रा सुरु गरेको हो ।
पूर्वजहरूबाट प्रदर्शित अदम्य साहस, त्याग र बलिदानको उच्च कदर र सम्मान स्वरुप पदयात्रा सुरु भएको हो । ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरूको पहिचान तथा संरक्षण गर्दै युवा पुस्तामाझ देश भक्तिको भावना जागृत र पर्यटन प्रवर्द्धन गराउन पदयात्रा सुरु भएको सेनाले जनाएको छ ।

पशुपतिप्रसाद गणको संयोजकत्वमा उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको पदयात्राले ८५ किलोमिटर दूरी पार गर्नेछ ।
उदयपुरगढीबाट सुरु भएको पदयात्रा पुस २७ गते चौदण्डीगढीमा पुगेर समापन हुनेछ । पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल सहितको टोली छ ।

पद यात्रामा कार्यक्रमको शुभारम्भमा पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरव कुमार केसी, उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, , श्री नं.१८ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विमल कुमार बस्नेत लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 
















