सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा एक सय ७७ मुरी धान उत्पादन गर्ने एकसहित सात जना कृषक नगदसहित सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र धनकुटाले एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो ।

चौबिसे गाउँपालिका-५ सदमटारका यम लिम्बु ६५ रोपनी क्षेत्रफलमा एक सय ७७ मुरी धान फलाएर प्रथम घोषित भए । यस्तै १२ रोपनी क्षेत्रफलमा र ९ वटा ग्रीन हाउस हाइटेक टनेलमा व्यावसायिक तरकारी खेती गर्ने छथर जोरपाटी गाउँपालिका-५ बोक्रेकी डेगमाया लिम्बू द्वितीय भइन् ।

Advertisement

८० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्ने पाख्रीबास नगरपालिका-९ लिसुम्बाका हरिभक्त राई तृतीय भए । उनीहरूलाई क्रमशः पाँच, चार र तीन हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यसैगरी ४ रोपनी क्षेत्रफलमा टमाटर खेती र ५ रोपनी क्षेत्रफलमा आप खेती गर्ने साँगुरीगढी गाउँपालिका-२ का लक्षिनध्वज लिम्बु तथा ३३ रोपनी क्षेत्रफलमा फलफूल खेती गर्ने धनकुटा नगरपालिका-८ का रत्नबहादुर राई सान्त्वना घोषित भए ।

यस्तै २१ रोपनी क्षेत्रफलमा टमाटर, कागती र सुन्तला खेती गरी आकाशे पानी संकलन गरी सिँचाइ गर्ने सहिदभूमि गाउँपालिका-६ का गंगाराम राई र साढे १६ रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खोर्सानी खेती गर्ने महालक्ष्मी नगरपालिका-४ का दिर्गबहादुर पौडेल पनि सान्त्वना भए । उनीहरूलाई जनही दुई हजार नगद र सम्मान पत्र प्रदान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले सम्मान गरे । केन्द्रका प्रमुख रानाले केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट कृषकलाई सम्मान गरिएको बताए ।

जिल्ला समन्वय समिति प्रमुख तामाङले कृषकहरूलाई कृषकहरूलाई व्यवसायिक खेती गर्न प्रोत्साहन गरे । उनले तीनै तहको सरकारलाई कृषकका समस्या समाधान गर्न आग्रह गरे । उनले उत्पादित कृषि उपजले बजार पाउनुपर्ने तथा मलखादको अभाव हुन नदिन सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!