
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मिलेर जान सकिने बताएका छन् ।
आज नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनमा चुनौती रहेकाले ठूला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् ।
‘जेनजी आन्दोलन पश्चात्का राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती छ’, उनले भने, ‘प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडि बढ्न तयार छौं । त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका छ ।’ सबै एकतावद्ध भएर अघि बढ्दा सहज हुने उनको बुझाइ छ ।
उनले अरेका भरमा सत्यतथ्य नबुझी राजनीतिमा पाइला चाल्न नहुने तर्क गर्दै आफ्नो पार्टी एकताका पक्षमा रहेको बताए । उनले जेनजी आन्दोलनको माग जायज भएपनि घुसपैठका कारण देशको स्थिति भयाभय भएको उल्लेख गरे ।
चुनावका विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले सुरक्षा निकायसँग छलफल र कुराकानी भइरहेको बताउँदै अवस्था सामान्य रहेको उल्लेख गरे । उनले भने, ‘चुनाव हुन्छ, ढुक्क हुँदा हुन्छ ।’
उनले संसद पुनस्थापना अदालतबाट आदेश फैसला र विषेश परिस्थितिमा हुने बताउँदै चुनावको विकल्प नरहेको स्पष्ट पारे । गणतन्त्र, संघियताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने उनको भनाइ छ ।

सन्तोष सुवेदी/संगालोखबर 













