सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित बुढीमोरङमा रहेको मोराहाङ दरवार ओझेलमा परेको छ । मोरङ्गे भनेर चिनिने प्राचीन मोराहाङ राजासँग जोडिएको दरबार र अपराधीलाई सजाय दिने सुलीकोट संरक्षण अभावमा ओझेलमा परेको हो ।

साँगुरीगढी गाउँपालिका-१ र २ मा पर्ने बुढीमोरङ आसपासको गाउँको नाम मोरङ्गे राजाले शासन गरेको स्थान र उनकी जेठी श्रीमतीको सम्बोधनबाट रहेको इतिहास पाइन्छ । मोरङ्गे राजाले आफ्नो राज्यमा अपराध र राज्यद्रोह गर्नेलाई सुली चढाएर मृत्युदण्ड दिने स्थान सुलीकोट रहन गएको पाइन्छ ।

Advertisement

बेलाबखत अवैधानिक उत्खनन गर्न खोजिएको सुलीडाँडा क्षेत्र वर्षौँदेखि स्थानीयको निगरानीमा भए पनि संरक्षणको खाँचो देखिएको छ । यसको संरक्षणका लागि सरकारी निकायबाट कुनै पहल नभएको स्थानीय मिक्तोक इवाहाङले बताए ।

लिम्बू भाषामा हाङपाङ यक भनेर चिनिने यस स्थानका भग्नावशेष संरक्षण र प्रचार अभावमा गुमनाम बनेको उनको भनाइ छ । यस स्थानमा ती राजाले घोडा बाध्न प्रयोग गर्न जमिनमा गाडेका ढुङ्गाका खम्बा अझै संरक्षणविहीन अवस्थामा छन् ।

निजी जमिनमा रहेको यस स्थानमा केही वर्षअघि मकै गोडमेल गर्दा तत्कालीन राजाले प्रयोग गर्ने चाँदीका सिक्का, गाडधन भेटिएको थियो । संरक्षण गर्नुपर्ने ठाउँमा गाउँपालिकाले बजेटको अभाव भन्दै संरक्षणका लागि काम नगरेको स्थानीय शिवकुमार इङनामले बताए ।

ऐतिहासिक स्थान भएपनि निजी जमिनमा रहेकाले संरक्षणमा समस्या भएको पाइन्छ । बजेट अभाव हुँदा थप काम गर्न नसकिएको साँगुरीगढी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यो क्षेत्रको संरक्षणका लागि डिपिआर तयार गर्न लागिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!