
विराटनगर । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा निराशा बढ्न थालेको छ । पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने कोशी सरकारले घोषणा गरेर प्रकृया सुरु भैसकेको सपना देखाएपनि अझै हस्पताल हस्तान्तरण नगर्दा धनकुटावासी निरास बनेका हुन् ।
संघियता कार्यान्वयनपछि तत्काल क्षेत्रिय सदरमुकाम सरेपछि बिरानो बन्न पुगेको धनकुटामा राजधानी माग्दै महिनौँ आन्दोलित भएका धनकुटावासीलाई प्रादेशिक शिक्षण अस्पताल सञ्चालन हुने खबरपछि आशाको सञ्चार गरेको थियो ।
तर कोशी सरकारले निर्णय गरेर शिक्षण प्रकृया सुरु भैसकेको भनेर होहल्ला गरेको सात महिना पुगिसक्दा समेत सरकारले अझै अस्पताल शिक्षण अस्पतालका लागि हस्तान्तरण नगर्दा धनकुटावासीहरू निरास बनेका हुन् ।
राजधानी माग्दै ६ महिना लामो निरन्तर संघर्ष गरेका धनकुटावासीलाई राहत दिन तत्काल प्रदेश नं १ को नेकपा सरकारले २०७६ मा एक सय शैयाको शिक्षण अस्पताल संचालन गराउने भनेर चार करोड बजेट विनियोजन गरेको थियो । सोही बजको अधिकारमा बहुवर्षे योजनामा धनकुटामा नयाँ भवन पनि बनिसकेको छ । तर घोषणा अनुसार शिक्षण अस्पताल भने अझै सञ्चालनमा आएको छैन ।
कोशी सरकारले २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वास्थ्य प्राविधिक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आफ्नै अस्पताल माग गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउन ५ जेठ २०८२ मा निर्णय गरेर हस्तान्तरण प्रकृया सुरु गरेको घोषण गरेका थिए ।
निर्णय भएर पनि प्रकृया टुङ्गिन ढिलो भएपछि घोषणा अलपत्र नपार्न भन्दै धनकुटाका सांसदहरूले प्रदेश सभामा मात्र नभएर सार्वजनिक रूपमा पनि सरकारलाई ज्ञापनपत्र बुझाउँदै र आवाज उठाउँदै आएका छन् ।
धनकुटाकी पूर्व प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले सरकारले चाँडो हस्तान्तरण प्रकृया टुङ्ग्याएर शिक्षण अस्पताल सञ्चालन गराउनुपर्ने बताइन् । ‘पटक पटक धोका पाएका धनकुटावासी शिक्षण अस्पतालमा पनि ठगिए भने धैर्यको बाँध टुट्छ’, उनले भनिन् ।
काँग्रेसका धनकुटा सचिव विजय सन्तोषी राई राजधानीदेखि अनेकौँ संरचनाहरूका लागि आश्वासन पाएर पनि धनकुटावासी ठगिँदै आएको बताउँछन । ‘प्रदेश सरकारले शिक्षण अस्पताललाई आशामा मात्र सीमित राख्नुहुँदैन हस्तान्तरण प्रकृया चाँडो टुङ्ग्याएर सञ्चालनमा ल्याउनुपर्छ’, उनले भने ।
धनकुटा नागरिक समाजका संयोजक द्रोण गुरागाँईले कोशी सरकारले चाँडो शिक्षण अस्पताल सञ्चालन ल्याउनुपर्ने बताए । कोशी सरकारको ५ जेठ २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा जिल्ला अस्पतालाई मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेर प्रदेशको शिक्षण अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गर्दै प्रकृया सुरु भैसकेको घोषणा गरेको थियो ।
मन्त्रिपरिषद्बाट निर्णय भएपछि अब धनकुटा अस्पताल शिक्षण अस्पतालका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढिसकेको र चाँडै विश्वविद्यालयसँग सम्झौता टुङ्ग्याएर शिक्षण अस्पताल सञ्चालन गर्ने कोशी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले तत्काल जानकारी दिएका थिए ।
तर सरकारले निर्णय गरेको सात महिना बितिसक्दापनि अझै मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) सँग अस्पताल हस्तान्तरण प्रकृया टुङ्ग्याइसकेको छैन ।
यता आफ्नै अस्पताल नहुँदा मेडिकल स्वास्थ्य शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गराउन नपाएको मनमोहन विश्वविद्यालयले स्वास्थ्य शैक्षिक कार्यक्रमका लागि पाठ्यक्रम तयार पारेर अस्पताल हस्तान्तरणका लागि सरकारलाई पर्खेर बसिरहेको छ ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल आफ्नै अस्पताल अभावमा मनमोहनले पाठ्यक्रम तयार गरेर पनि बिएससी नर्सिङ, अप्टोमेसी, रेडियोलोजी, ल्याव प्राविधिक (विएमएलटी) रेडियोलोजी, फिजिकल थेरापी, कक्षाहरू सञ्चालन गर्न नसकेको बताए ।
उनले कोशी सरकारले धनकुटा जिल्ला अस्पताल हस्तान्तरण चाँडै गरेमा आफुहरूले अस्पताल स्तरोन्नति गरेर आफ्नै व्यवस्थापनमा अस्पताल र शैक्षिक कार्यक्रम संचालन गर्ने बताए । उनका अनुसार सरकारको निर्णयपछि मनमोहनले पटक पटक धनकुटाका राजनैतिक दल नागरिक समाज र अस्पताल व्यवस्थापन समितिसँग छलफल गरिसकेको छ ।
शिक्षण अस्पतालका लागि धनकुटा नगरपालिका-७ बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको २५ रोपनी ५ आना ३ पैसा जग्गा पनि स्विकृत भएर २५ करोड ८० लाख रुपैयाँ बराबरको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ ।

संगालोखबर 













