
धनकुटा । धनकुटा नगरपालिकाले १५ जना युवालाई स्थानीय टुरिस्ट गाइड तालिम दिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा स्थानीय पर्यटन प्रबर्द्धन र रोजगारी सृजना गर्ने उद्देश्यले नगरपालिकाले टुरिस्ट गाइड तालिको दिएको हो ।
सात दिनसम्म संचालित तालिममा गाइडमा हुनुपर्ने आचरण, व्यवहारिक ज्ञान, शिष्टाचार, संवाद कला, सुरक्षा सचेतना र जिम्मेवारी लगायतका विषयमा सिकाइएको थियो ।
यस्तै सहभागी पर्यटनकर्मी, इतिहासका जानकार तथा भूगर्भविद्ले धनकुटाको इतिहास, संस्कार, संस्कृति, भाषा, भौगोलिक विशेषता, पर्यटकका लागि सही र विश्वसनीय सूचना र मार्गदर्शन सम्बन्धी कोर्ष उपलब्ध गराएका थिए ।
उनिहरूलाई धनकुटा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय विशेषता बारे जानकारी दिने र पर्यटकीय स्थल घुमाएर चिनाउनेबारे जानकारी गराइएको छ ।
धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार टुरिस्ट गाइड तालिमले पर्यटकलाई मार्गदर्शन, स्थानीय पर्यटनसँग सम्बन्धित गतिविधि र स्वरोजगारमा सघाउ पुर्याउने छ ।
पर्यटन प्रवर्द्धनका लागि आधारभूत गाइडलाई बहुभाषिक तालिम समेत उपलब्ध गराउँदै जाने उनको भनाइ छ । नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार पर्यटकीय स्थलको जानकारी उपलब्ध गराउन धनकुटाको बसपार्कमा पर्यटन सूचना केन्द्र समेत संचालनमा ल्याएको छ । यस्तै पालिकाले पर्यटन नीति तयार गरिरहेको उनले बताए ।
धनकुटा बजारमा रहेको ऐतिहासिक निशान भगवती मन्दिर, बिहिबारे हाट, सुन्तले शहर, विश्रान्ति धाम, मूलघाट धनकुटा पदमार्ग, महेन्द्र पार्क, आठपहरिया संग्रहालय, कोशी प्रदेश सङ्ग्रहालय, चुलीवन, हिले, बक्रकुण्ड, उत्तरपानी, मधुगङ्गा तीर्थस्थल लगायतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदा रहेका छन् ।

संगालोखबर 













