सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेपाली सेनाद्वारा श्री राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालय याङ्गसिला मोरङमा ५ सय २८ जना विद्यार्थीहरूलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिएको छ । बिहीबार  सि.सं. ५१ एनसिसी जुनियर तालिम (दोस्रो चरण) को दीक्षान्त समारोह आयोजना गरी तालिम समापन गरेको हो ।

तालिममा कोशी, मधेश र बागमती गरी तिन वटा प्रदेशका विद्यालयमा अध्ययनरत छात्र छात्राहरूको सहभागिता थियो । कोशी प्रदेशका उदयपुर, सुनसरी, मोरङ, झापा र ताप्लेजुङ जिल्लाका विद्यालयको सहभागिता थियो । यस्तै मधेश प्रदेशका महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा बागमती प्रदेश स्थित सिन्धुलीका ३ वटा विद्यालय सहभागिता थिए ।

Advertisement

गत मंसिर २० गतेदेखि सुरु भएको तालिममा २ सय ६५ छात्र र २ सय ६३ छात्रा गरी ५२८ जना विद्यार्थी सहभागिता रहेका थिए । तालिम समापनको अवसरमा बोल्दै प्रमुख अतिथि पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरव कुमार केसीले युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिम गरिएको बताए ।

संस्कार युक्त नागरिक, सामान्य बौद्धिक कला, विपतजन्य घटना, शैक्षिक तथा व्यवहारिक ज्ञान, निस्वार्थ सेवा भाव, राष्ट्रिय संकटको बेला एकता भइ सेवामा खटिन, सकारात्मक लक्ष्यका साथ काम गर्न, कला संस्कृतिको चिनारी र नेतृत्व विकास लगायतका विभिन्न व्यवहारिक ज्ञान उपलब्ध गराउन तालिमले भूमिका खेल्ने उनको भनाइ छ ।

तालिम अवधिभर सैनिक आवासीय महाविद्यालय सुनसरीका छात्रा सुमिना लिम्बु, पशुपति इङ्ग्लिस बोर्डिङ स्कुल सुनसरीका छात्र आयुश राई, आधुनिक बोर्डिङ स्कुल सिन्धुलीका छात्र गौतम काफ्ले र छात्रा रञ्जिता दर्लामी विभिन्न विधामा उत्कृष्ट भएका थिए । उत्कृष्ट हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी कुमार केसीले शिल्ड तथा प्रमाण वितरण गरेका थिए ।

तालिममा सहभागि विद्यार्थीहरूलाई दर्ज्यानी चिन्ह प्रदान साथै तालिममा सहभागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई सम्मान पत्र वितरण गरिएको थियो । तालिममा राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!