
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा १३ औं खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिभल हुने भएको छ । होटल एसोसिएसन अफ भेडेटारले आज पत्रकार सम्मेलन गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म खाना महोत्सव हुन लागेको जानकारी दिएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकार राखिने छ । यस्तै खाद्यान्न, नगदे र औद्योगिक बाली, फलफूल, तरकारी, आलु बाली तथा स्थानीय कृषि उत्पादनका स्टल राखिने जनाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उद्देश्यले खाना महोत्सव गर्न लागिएको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

सो अवधिमा भेडेटारका धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकहरूलाई पुर्याइने जनाइएको छ । भेडेटारमा तराईका जिल्लाहरू साथै छिमेकी देश भारतबाट सबैभन्दा बढी पर्यटकहरू आउने गरेका छन् ।
फेस्टिभलमा करिब २ करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
भेडेटारमा स्काई वाक, सैलुङडाँडा (चाल्स भ्यू टावर), पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्मा घर, जनजाति पार्क थुम्की, सिम्सुवा झरना, साँगुरीगढी, होमस्टे, ओख्रे भू टावर, ध्वजे डाँडा लगायतका पर्यटकीय गन्तव्य छन् ।

सन्तोष सुवेदी/संगालोखबर 













