
विराटनगर । विराटनगरमा भोलि बुधबारबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरभित्र सञ्चालित ६१ वटा नीजि तथा सामुदायिक विद्यालयका एक हजार पाँच सय २५ जना विद्यार्थीहरूले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विराटनगर महानगरपालिकाले जनाएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष उमेर पूरा नभएका विद्यार्थी खेलाडीहरूले मात्रै सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गर्नेछन् । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो, उसु लगायतका खेल समावेश गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि महानगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगितामा विजेता हुने खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

संगालोखबर 













