सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तिव्र बनाएका छन् । मतदानस्थल, केन्द्रको अवस्था निरीक्षण तथा सुरक्षा योजनाको तयारी भइरहँदा राजनीतिक दलका गतिविधि भने न्यून देखिएका छन् ।

धनकुटामा राजनीतिक दलहरूले निर्वाचन लक्षित कुनै पनि गतिविधि गरेका छैनन् । सात वटै पालिकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति, मतदानस्थल र केन्द्रको निरीक्षण अनुगमनलाई तीव्र पारिएको छ ।

Advertisement

अनुगमन टोलीले गाउँगाउँ पुगेर सुरक्षा व्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

मतदान स्थलको अवस्था कस्तो छ ?, सुरक्षा व्यवस्थापन र मतपेटिकाको ढुवानी कसरी गर्ने ? तथा सम्बन्धित स्थानमा मतपत्र कसरी पुर्याउने भनेर स्थलगत अनुगमनलाई तीब्र बनाइएको उनले जानकारी दिए ।

धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले सुरक्षा संयन्त्र, भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षा व्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भिड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन भइरहेको बताए ।

तोकिएका केन्द्र अनुसार सुरक्षाकर्मी, प्रहरीको मोबाइल र रिजर्व टोली परिचालन, क्विक रेस्पोन्स कति खटाउने भनेर अध्ययन भइरहेको उनले जानकारी दिए । यस्तै प्रभावकारी सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको अध्ययन भइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदानस्थल तय भएका छन् । मतदानस्थलको टुंगो लागे पनि मतदान केन्द्रको सङ्ख्या भने केही थपघट हुनसक्ने जनाइएको छ ।

यसअघिका निर्वाचनमा धनकुटाका १ सय १९ मतदान स्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो । तिनै निर्वाचन स्थल र केन्द्रको स्थलगत अनुगमन गरि थप सुरक्षा विश्लेषण र स्तर निर्धारण गरिने बताइएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले हाल मतदाता नामावली अद्यावधिक र दाबी विरोधको काम चलिरहेको जानकारी दिए । एउटै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिने, मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारीमा जुटेको उनको भनाइ छ ।

आयोगले निर्वाचन तयारी सुरु गरिरहेका बेला गाउँघरमा भने कुनै पनि राजनीतिक दलका निर्वाचन लक्षित गतिविधि भएका छैनन् । दलगत भेला र उम्मेदवारको चर्चा परिचर्चा नहुँदा निर्वाचन आउँदै गरेको अनुभूतिनै नभएको स्थानीय बताउँछन् । जिल्लामा क्रियाशील राजनीतिकदलका नेताहरूले निर्वाचनका लागि आफ्नो तरिकाले तयारी भइरहेको बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!