
काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउदले स्वर्ण पदक जितेका छन् । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा उनलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको हो ।
सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए । दीक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की तथा उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गरेका हुन् ।
काठमाडौं विश्वविद्यालयले वार्षिक दुई चरणमा गर्न थालेको दीक्षान्त समारोहमा यो वर्षको पहिलो दीक्षान्त समारोहमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एमडीएमएस तर्फ ७ जना, एमबीबीएस तर्फ ६६ जना र बिडीएस तर्फ ८ जना दीक्षित भएका छन् ।
नोबेलमा पहिलो पटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरू पनि सत प्रतिशत नतिजासहित दीक्षित भएका छन् । यसअघि नोबेलका विद्यार्थीहरूले उत्कृष्ट नतिजासहित एमबीबीएस कार्यक्रममा उपकुलपति स्वर्ण पदक हासिल गर्न सफल भएका थिए ।

संगालोखबर 













