
विराटनगर । विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग औपचारिक सहकार्य सुरु गरेको छ । हस्पिटल प्रशासनले आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
हरियाणा (दिल्ली एनसीआर) स्थित अमृता हस्पिटलसँगको सहकार्यले कोशी र मधेश प्रदेशका बिरामीले जटिल उपचार सहजै पाउने अस्पतालले दाबी गरेको छ ।
सेवा विस्तारको योजनाअन्तर्गत सुरु गरिएको सहकार्यले क्यान्सर उपचार, अंग प्रत्यारोपणदेखि रोबोटिक सर्जरीसमेत अत्याधुनिक सेवा नेपालमै समन्वय गरी उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ ।
अमृता हस्पिटल प्रसिद्ध आध्यात्मिक नेतृ माता अमृतानन्दमयी (अम्मा)द्वारा स्थापित २ हजार ६ सय शैय्या क्षमताको भारतकै सबैभन्दा ठूलो गैर-सरकारी अस्पताल मानिन्छ ।
सहकार्य घोषणासँगै न्युरो अस्पतालले शुक्रबार न्युरोलोजी (टाउको–नसा) र पल्मोनोलोजी (फोक्सो–दम) विषयमा ‘कन्टिन्युइङ मेडिकल एजुकेशन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्युरोलोजिष्ट प्रा. सञ्जय पाण्डे र विशेषज्ञ डा. सौरभ पाहुजाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संगालोखबर 













