संगालोखबर


झापा । झापाबाट अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा मेची-महाकाली विद्यार्थी जागरण यात्रा सुरु गरिएको हो । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थालाई चिर्न जागरण यात्रा सुरु गरिएको अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेलले जानकारी दिए ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, अनेरास्ववियु महासचिव अन्जना शिवाकोटी, केन्द्रीय सचिव गोपाल नेपाल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष धामीले कम्युनिष्ट आन्दोलनको उर्वर भूमि झापाबाट मेची महाकाली विद्यार्थी जागरण यात्रा सुरु गरिएको उल्लेख गर्दै यात्रा प्रत्येक जिल्ला, क्याम्पस र विद्यालयसम्म सञ्चालन हुने बताए ।

शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव शिवाकोटीले अनेरास्ववियुका नेता कार्यकर्ताले अहिलेको अवस्थालाई चिर्दै तल्लो तहसम्म संगठन विस्तार तथा जागरण अभियान सञ्चालन गर्ने बताइन् ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष खतिवडाले जेनजी आन्दोलनमा विभिन्न समुहहरूको घुसपैठ भएको बताउँदै एमाले नेतृत्वमा भएको सरकारले ल्याएको लिपुलेक लिम्पियाधुरा सहितको नक्सा जारी भएपछि एमाले माथी सबैतिरबाट आक्रमण भएको बताए । उनले जेनजीहरूको माग पुरा गर्नका लागि संसद पुनर्स्थापना गर्दै संविधान संसोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

सो अवसरमा अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको अनलाइन वक्तृत्वकला प्रतियोगितामा विजेता हुनेहरूलाई पुरस्कार वितरण गरिएको छ । वक्तृत्वकलामा सरस्वती  माध्यमिक विद्यालय छथर तेह्रथुमकी छात्रा तृप्ति भण्डारी प्रथम, सूर्य आवासीय माध्यमिक विद्यालय संखुवासभाकी छात्रा सदीक्षा तामाङ द्वितीया, सुमिना बहुमुखी क्याम्पसका छात्र सुमन ढुंगाना तृतीय तथा प्रिन्शा तिम्सिना, कृतिका शिवाकोटी र  तन्ना बान्तवा राईले सान्त्वना पुरस्कार पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!