
विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।
सो अवसरमा उनले निर्माणाधीन भवनको काम तोकिएको समयसिमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माणाधीन दुई वटै भवन निर्धारित समयमा नै तयार गरेर हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले भवन निर्माणका लागि जनशक्ति थप गरेर काम गर्न निर्देशन दिँदै गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
निर्माणाधीन अवस्थामा रहेको दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ ।
निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

संगालोखबर 













