
धनकुटा । महालेखापरीक्षक तोयम रायले महालेखापरीक्षण गर्दा देखिएका बेरुजु सबै भ्रष्टाचार भन्न नमिल्ने बताएका छन् ।महालेखापरीक्षकको कार्यालय अनामनगर काठमाडौंले धनकुटामा गरेको लेखापरीक्षण बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले बेरुजु सैद्धान्तिक र लागतमा हुने गरेको उल्लेख गर्दै महालेखापरीक्षणबाट देखिएका सबै बेरुजुलाई भ्रष्टाचार भन्न नमिल्ने बताए । कतिपय कुरामा कानूनी समस्या रहेकोले पनि बेरुजु देखिने गरेको उनले बताए ।
महालेखापरीक्षक रायले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कानून बनाउँदा एकआपसमा नबाझिने गरी बनाउनु पर्ने उल्लेख गरे । तीनै तहबीच समन्वय गरेर कानुन बनाउँदा बेरुजु नहुने र भएपनि फर्छ्योटमा सहज हुने उनको भनाइ थियो ।
देशभरि ७ खर्ब १३ अर्ब रुपैयाँ बेरुजु कर्मचारीको कमजोरीका कारणले बढी देखिएको उनले बताए । वि.स. २०६० सालबाट सङ्घीय सरकारमा र २०७० सालबाट स्थानीय सरकारका कार्यालयमा बेरुजु बढ्दै गएको भएपनि फर्छ्योटमा चासो नदिँदा समस्या हुने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा महालेखा परीक्षक ऐन २०७४ मा भएको व्यवस्थाका बारे जानकारी गराइएको थियो । यस्तै नायब महालेखापरीक्षक पशुपति कुमार काफ्लेले हाल देखिएका बेरुजुहरूको फर्छ्यौट प्रक्रियाको कानुनी विधि र धेरै बेरुजु देखिनुका कारणहरूका बारेमा बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख तथा लेखा अधिकृत, लेखापाल, सहलेखापाल लगायतको उपस्थिति थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













