
काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा विराटनगरको कोशी अस्पताल नवौँ स्थानमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा दिएको जानकारी अनुसार ६३ अंक प्राप्त गर्दै विराटनगर नवौँ स्थानमा परेको हो ।
चितवनको भरतपुर अस्पताल सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । दोस्रो स्थानमा परेको बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक पाएका छन् ।
यस्तै वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन् । यसैगरी गजेन्द्रनारायण सिंहले जम्मा ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।
मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, सङ्क्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समावेश गरिएको हुन्छ ।
यस वर्षको मूल्याङ्कनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो । मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ ।

संगालोखबर 













