
विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति मुस्लिम समुदायले आपत्ति जनाउँदै बोलेको कुरा फिर्ता लिन आग्रह गरेको छ । मोरङ मुस्लिम समुदायले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम समुदायको धार्मिक आस्था, संस्कार र सामुदायिक सम्मानमा चोट पुगेको मोरङ मुस्लिम समुदायको ठहर छ । यस्तो टिप्पणीले सामाजिक सद्भावमा नकारात्मक असर पारेको भन्दै अभिव्यक्ति तुरुन्त फिर्ता लिन मोरङ मुस्लिम समुदायले माग गरेको छ ।
धार्मिक विश्वासप्रति गरिएको अपमानपूर्ण टिप्पणीले मुस्लिम समुदायको संवेदनशीलता कमजोर पार्ने र सामाजिक सद्भावमा दरार ल्याउन सक्ने समुदायका सदस्य जरिना खातुनले बताइन् ।
कुनै पनि व्यक्ति वा समुदायको धर्म तथा परम्परामाथि लक्षित कटाक्ष संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रतालाई नै चुनौती दिने कदम भएको सदस्य मोहम्मद जम्सेद आलमले उल्लेख गरे । धार्मिक विषय संवेदनशील हुने भएकाले सार्वजनिक अभिव्यक्ति दिँदा उच्च जिम्मेवारीका साथ बोल्न मुस्लिम समुदायले आग्रह गरेको छ ।
मोरङ मुस्लिम समुदायकी संयोजक एडभोकेट जरीन खानमले यो कदम कुनै व्यक्तिलाई लक्षित गरेको प्रतिशोध नभई धार्मिक पहिचान, आस्था र सामाजिक सम्मान सुरक्षित राख्ने उद्देश्यले उठाइएको आवाज भएको बताइन् ।
प्रधानमन्त्री कार्कीले लैंगिक हिंसा सम्बन्धी दिने १६ अभियानको पहिलो दिन आयोजित कार्यक्रममा इस्लामको इतिहासलाई मुस्लिम देश अरबसँग जोडेर अभिव्यक्ति दिएकी थिइन् ।

इन्दु साह/संगालोखबर 













