
विराटनगर । जेनजी आन्दोलनका क्रममा लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउन्ड गोलीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ बाट उक्त हतियारसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा छन् । प्रहरीका अनुसार भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय तोडफोड तथा आगजनी गरी पेस्तोल र गोली लिएर सरोज फरार भएका थिए ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरमै लुकेर बसेको अवस्थामा सरोजलाई एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरेको हो । उनले एक थान पेस्तोल र ५ राउन्ड गोली विश्व लिङ्देनलाई दिएको बताएका थिए ।
लिङ्देनले पनि उक्त पेस्तोल र गोली चुलाचुली-४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको बताएपछि हाङसुरुम्वाले बारीमा खाल्डो खनेर लुकाएर राखेको अवस्थामा प्रहरीले एक थान पेस्तोल र ५ राउन्ड गोली फेला पारेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













