
धनकुटा । धनकुटामा तीन हजार बढीले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन हजार दुई सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जसमध्ये एक हजार ९ सय ८६ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका निर्वाचन कार्यालय धनकुटाका निमित्त निर्वाचन अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । अहिले अनलाइनबाट भर्नेहरूको रुजु गर्ने काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकेसँगै असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु गरिएको थियो । निर्धारित समय सकिएपछि पनि मंसिर ५ गतेसम्म मतदाता नामावलीको म्याद थप गरिएको थियो ।
निर्वाचन कार्यालयले अहिले जिल्ला भन्दा बाहिरबाट नाम दर्ता गराएका, दोहोरो नामावली दर्ता भएका, मृत्यु भएका र बसाइ सरेर गएकाहरूको नाम सच्याउने काम गरिरहेको छ । नयाँ नामावली दर्ता गर्नेमा सबैभन्दा बढी जेनजी पुस्ता रहेका निमित्त निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार पुष १५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ । सोही अनुसार धनकुटाको कुल मतदाता संख्या आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













