
बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा पुनः कफ्र्यू आदेश जारी गरेको छ । आज बिहानै देखी सिमरामा जेनजीहरूले प्रदर्शन सुरु गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको हो । वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । बुधबार पनि प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो । अवस्था सामान्य भएपछि कफ्र्यू हटाइएकोमा आज पुनः प्रदर्शन भएपछि कफ्र्यू आदेश जारी गरिएको हो ।
बुधबारको प्रदर्शनका क्रममा हातपात गर्ने एमाले नेताहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै आज पनि जेनजी युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा जेनजी युवा र प्रहरीबीच झडप समेत भएको छ ।


संगालोखबर 













