
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सिमरा चोकमा आज पनि जेनजीले प्रदर्शन गरिरहेका छन् । आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्नुपर्ने माग गर्दै जेनजी युवाले सिमरामा प्रदर्शन गरेका हुन् ।
उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने प्रहरीसँग झडप पनि भएको छ । बुधबार एमालेले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रम राखेको थियो ।
उक्त सभालाई सम्बोधन गर्न काठमाडौंबाट पार्टी महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत जहाजमार्फत सिमरा आउन लागेका थिए ।
एमाले नेताको विरोध गर्न सिमरा चोकमा भेला भएका जेनजी र नेताको स्वागत गर्न एयरपोर्ट जाँदै गरेका एमाले सम्बद्ध युवाहरूबीच झडप भएको थियो । सोही कारण बुधबार दिनभर सिमरा चोक तनावग्रस्त भएको थियो ।

संगालोखबर 













