
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् ।
कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना गर्ने गरिन्छ ।
यो चाड ६ दिन ६ रातसम्म एकआपसमा खुशियाली साटासाट गरेर मनाउने गरिएको स्थानीय नरेन्द्र कश्चित राईले बताए । पापानी पर्वमा किरात राईहरूले कुलदेवताको पूजाआराधना गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्ने उनको भनाइ छ ।

पापानी नाच नाच्दा सबै जना एकआपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गर्छन । पापानी चाडको पहिलो दिन गाउँभरका ढोलहरू मुल पुजारीको घरमा भेला भएर पूजा गर्ने गरिन्छ ।
दोस्रो दिन आ–आफ्नो घरघरमा देवीदेउता भित्र्याएर पूजा गरिन्छ । देवता भित्र्याएपछि हरेक घरमा माझ्ला अर्थात जोखाना हेर्ने गरिन्छ । यस्तै इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीकको रूपमा ङाङसुबाथिङको घर हुँदै गढी घर, पाथ्थरे, मझियाँको गढी घरमा पूजा गर्ने चलन छ ।
पापानी चाड पहिले पामाआनी शब्दबाट अपभ्रंस भएर बनेको जनविश्वास छ । राई भाषामा ‘पा’ भनेको छोरा मान्छे, ‘मा’ भनेको छोरी मान्छे हो । पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलोघेरा भएर ढोल झ्याप्टा बजाउँदै नाच्नु भन्ने बुझिन्छ । यसले किराती राईहरूको आफ्नो कला, संस्कृति, भेषभूषा, रहनसहन र रीतिथितिसमेत बोकेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













