संगालोखबर


धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को स्वीकृतिपछि नगर विकास समिति र रेशम खेती विकास कार्यक्रम स्वामित्वको जग्गा सट्टाभर्नाको विवाद अन्त्य भएको छ ।

Advertisement

जग्गाको स्वामित्व प्राप्त नहुँदै प्रादेशिक अस्पतालका नाममा उक्त स्थानमा २५ करोड ८० लाख रुपैयाँको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम भइरहेको छ ।

कोशी प्रदेश सरकारले २०७८ सालमा १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एकसय शय्या क्षमताको बनाउने निर्णय गरेको थियो । असोजमै प्रादेशिक शिक्षण अस्पताल संचालनका लागि कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको र अब जग्गाको स्वामित्व पनि प्राप्त भएकाले प्रादेशिक शिक्षण अस्पताल संचालनको बाटो खुलेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राईका अनुसार दुई वर्ष चार महिनाको अथक प्रयासपछि रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति पाइएको हो ।

‘२ वर्ष ४ महिनाको निरन्तरको अथक प्रयासपछि कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार रेशम खेती विकास कार्यक्रम (कृषि ज्ञान केन्द्र) धनकुटाको नाममा रहेको २५ रोपनी जग्गा निर्माणाधीन धनकुटा अस्पताल र नगर विकास कोषको २७ रोपनी जग्गा रेशम खेती विकास कार्यक्रम (कृषि ज्ञान केन्द्र) धनकुटालाई एउटा सरकारी निकायको जग्गा अर्को सरकारी निकायलाई उपयोग गर्न दिने कार्यविधि अनुरूप प्राप्त भएको जानकारी गराउन चाहन्छु’, राईले लेखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!