
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि सेमेन प्रशोधन गरेर हप्तामा ६० वटा पोथी बंगुरमा कृत्रिम गर्भाधान गरिँदै आएको छ ।
यस्तै बंगुरका विभिन्न जाति-प्रजातिमाथि पनि अनुसन्धान गर्ने गरिएको छ । प्रविधि विकासको कामलाई थप विस्तार गर्न राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमका संयोजक मनोजकुमार साह बताए ।
यो कार्यक्रम चार वर्षअघि ललितपुर स्थित खुमलटारबाट धनकुटाको पाख्रीबासमा सारिएको थियो । कार्यक्रममा दरबन्दी अनुसार वैज्ञानिक र प्राविधिक नहुँदा भने केही समस्या भएको उनको भनाइ छ ।
आवश्यक जग्गा, पूर्वाधार र उपकरणको व्यवस्था नहुँदा कामले तीव्रता पाउन सकेको छैन । यद्यपि पाख्रीबास कालो बंगुरमा कृत्रिम गर्भाधान प्रक्रिया ८५ प्रतिशत सफल देखिएको साहको भनाइ छ ।
एउटा भाले बंगुरको हप्तामा दुई पटक वीर्य संकलन गरिन्छ । एकपटकमा ४ देखी ५ सय एमएलसम्म वीर्य संकलन गर्ने गरिएको छ । उक्त वीर्य १० देखी १५ डोज कृत्रिम गर्भधारणका लागि प्रयोग हुन्छ ।
संकलित वीर्य १७ डिग्री सेल्सियसमा राखेर २/३ घण्टाको दुरीसम्म रहेको कृषकको घरमा पुर्याउन सहज भएपनि त्यसभन्दा टाढा लैजान समस्या हुनेगरेको उनको भनाइ छ ।
यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गरेको खण्डमा थप कृषकहरू लाभान्वित हुने कार्यालयले जनाएको छ । उक्त कार्यक्रम अन्तरगत पछिल्लो समय ७७ वटै जिल्लामा बंगुरको अनुसन्धान भइरहेको छ ।
पाख्रीबास कृषि केन्द्रले अनुसन्धान गरी विकास गरेको पाख्रीबास कालो जातको बंगुर मासुका लागि उपभोक्ता माझ लोकप्रिय छ । तर यसको व्यावसायिक उत्पादन अपेक्षाकृत हुन सकेको छैन । अनुसन्धान केन्द्रले करिब ४० वर्षअघि सेडलब्याक, फायुन र ट्यामवर्थ गरी तीन अलगअलग जातको सम्मिश्रणबाट पाख्रीबासमा कालो बंगुर तयार पारेको थियो ।
कालो रंग, मझौला खालको शारीरिक बनावट, रैथाने र स्थानीयको तुलनामा छिटो बढ्ने, धेरै पाठा जन्माउने, प्रतिकूल वातावरण र गाउँले व्यवस्थापनमा पनि सजिलै पाल्न सकिने, रोग तथा परजीवी प्रतिरोध क्षमता बढी हुने यो बंगुरको प्रमुख विशेषता समेत हो ।
पाख्रीबासको कालो जातको बंगुर धराने कालो बंगुरका नामबाट बजारमा बिक्री हुने गरेको छ । धराने कालो बंगुरको जात अहिलेसम्म सरकारी निकायमा दर्ता र सिफारिस नभएको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमका वैज्ञानिक बताउँछन् ।

सन्तोष सुवेदी/संगालोखबर 













