
ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीको मूल्य बढेको छ । अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको छ । अलैँची व्यवसायी सङ्घका अनुसार गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको होे । असोज दोस्रो हप्तासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५ देखि १७ हजार रुपैयाँले बढेको छ ।
नयाँ उत्पादन शुरु भएपछि ८० हजार प्रतिमनबाट कारोबार शुरु भएको अलैँचीको मूल्य यसवर्ष अपेक्षाकृत रुपमा बढेको व्यवसायीहरूले बताएका छन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो देश निर्यात हुने गर्छ ।

संगालोखबर 













