इन्दु साह/संगालोखबर


विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।

कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो । तँछाड-मडाछ गर्दै हुँइकिने सवारी–साधन र पैदलयात्रीलाई केही समय पर्खने बानी पर्दै थियो ।

Advertisement

तर ट्राफिक बत्ती बल्न छाडेपछि पुनः पुरानै अवस्था फर्किएको छ । प्रदेश सरकारले मुख्य राजमार्गको बरगाछी चोकमा ट्राफिक बत्ति जडान गरेको थियो । विराटनगर महानगरपालिकाले कञ्चनबारी, रोडषेशसहित बजारका व्यस्त स्थान भट्टी मोड, तीनपैनी चोक र जलजला चोकमा ट्राफिक बत्ती जडान गरेको थियो ।

आन्दोलन भएको दुई महिना हुनै लाग्दा पनि ट्राफिक बत्ती मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको सवारी चालक मोहम्मद अकबरले बताए । ‘ट्राफिक बत्ती बल्दा केही समय रोकिएपनि आरामले आवत-जावत गर्न सकिन्थ्यो’, उनले भने, ‘अहिले चौबाटोमा समेत एकैपटक सवारी-साधन र पैदलयात्री तँछाड-मछाड गर्दा समस्या हुने गरेको छ ।’

ट्राफिक बत्ती ट्राफिक नियम पालना गराउने ‘कडी’ भएकाले जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन उनले आग्रह गरे । ट्राफिक बत्ती सुचारु हुँदा दुर्घटनाको जोखिम पनि कम हुने उनको भनाइ छ ।

ट्राफिक बत्ती सञ्चालनमा नआउँदा सवारी व्यवस्थापन अस्तव्यस्त बनेको मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले बताए । उनले ट्राफिक बत्ती नबल्दा दुर्घटनाको जोखिम पनि बढेको उल्लेख गरे ।

‘साउनमा २४ वटा दुर्घटना भएका थिए । असोज महिनामा दुर्घटनाको संख्या ३० पुग्यो’, उनले भने, ‘ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ । जसका कारण जनशक्ति थप गर्नुपर्ने अवस्था आएको छ ।’

ट्राफिक बत्तीले सवारी चालक र पैदल यात्रुलाई सडक अनुशासन सिकाउँछ । तर परीक्षणकालमै रहेका ट्राफिक बत्तिमा क्षति पुग्दा कहिले मर्मत हुन्छन र सञ्चालनमा आउँछन् भन्ने यकिन छैन ।

महानगरपालिकाले परीक्षणकालमै रहेका कारण ट्राफिक बत्ती मर्मतमा ढिलाई भएको बताएको छ । ‘ट्राफिक बत्ती परीक्षणकालमै क्षति पुगेकाले अहिले तत्काल मर्मत गर्न सकस परेको छ’, महानगरपालिकाका मेयर नागेश कोइरालाले भने, ‘सञ्चालनमा ल्याउन केही समय लाछ ।’

ट्राफिक बत्ती जडानको जिम्मा पाएको कम्पनीलाई महानगरपालिकाले मर्मतसम्बन्धी सम्पूर्ण विवरण पेश गर्न पत्र पठाइसकेको छ । महानगरको सहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार कम्पनीबाट विवरण आएपछि मर्मत कार्य सुरु हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!