सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मा अवस्थित राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय राम्चेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।

Advertisement

जिल्ला सदरमुकामबाट करिब २१ किलोमिटरको दूरीमा अवस्थित राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट तराईका समथर फाट समेत देखिन्छन् । अरुण उपत्यका, मकालु र गौरीशङ्कर हिमालसँगै यस स्थानबाट सूर्यअवलोकन पनि गर्न सकिन्छ ।

यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्नकै लागि भएपनि पर्यटकहरू आउने गरेका स्थानीय गोविन्द थापाले बताए । राम्चेडाँडामा वनभोज खानका लागि पनि आउने गरेका छन् । पाख्रीबास-४ खेलमैदान हुँदै पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ ।

पर्यटक प्रवर्द्धन गर्दै नगरको विकासमा टेवा पुर्याउने उद्देश्यले पाख्रीबास नगरपालिकाले राम्चेडाँडामा भ्यु टावर निर्माण गरेको छ । पाँच तले भ्यु टावरबाट दृश्यावलोकन गर्न सकिन्छ । डाँडामा हरियाली चिया बगानसँगै विभिन्न प्रजातिका बोटबिरुवाहरू पनि छन् ।

राम्चेडाँडा समुद्री सतहबाट करिब १९ सय मिटरको उचाइमा छ । अग्लो भू-भाग भएकाले पनि यहाँको मौसम छिन-छिनमा परिवर्तन भइरहन्छ । जसले पर्यटकको ध्यान खिच्छ । राम्चे हाइलेण्ड प्रालिका संचालक निलम थापाले पर्यटकहरूलाई आकर्षण गर्न तथा पर्यटन प्रर्वद्धनका लागि काम भइरहेको बताए ।

करिब ६० लाख लागतमा पर्यटकीय स्थललाई थप व्यवस्थित गर्ने काम सुरु भएको उनको भनाइ छ । पाख्रीबास नगरपालिकाबाट २ किलोमिटरको दूरीमा रहेको राम्चोडाँडा पाख्रीबास-अधेरीघाट सडकबाट करिब ५ सय मिटर दूरीमा छ ।

३ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानमा अहिले रिसोर्टका लागि काम भइरहेको थापाले बताए । पाख्रीबास-अधेरीघाट सडकबाट राम्चेडाँडासम्म पुग्ने सडक पनि निर्माण भइरहेको छ । यस्तै चिया बगैँचा, फलफूल लगायतको उत्पादन र स्विमिङ पुल निर्माणको काम पनि अघि बढेको थापाले बताए ।

किमाथाङ्का र भारतबाट करिब ४ घण्टामा राम्चोडाँडा आउन सकिने भएकाले पनि पर्यटकहरू भित्र्याउन सहज हुने थापाको बुझाइ छ । यस क्षेत्रलाई अन्तराष्ट्रिय पर्यटकीय क्षेत्र बनाउने गरी काम अगाडि बढाइएको उनले बताए ।

केन्द्रिय सरकारले भ्यु टावर निर्माण गर्न सहयोग गरेपनि अन्य काममा सहयोग नगरेको थापाको गुनासो छ । स्थानीय सरकारबाट पनि आश्वासन बाहेक केही सहयोग नपाएको उनको भनाइ छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!