
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ ।
कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय नदिई आफू सवार गाडी जानाजानी अघि बढाउँदा सन्ध्या घिमिरे र भोलादेवी मगर घाइते भएका हुन् ।
एमाले गाउँ कमिटीले अध्यक्ष सुब्बाको कार्यशैलीलाई ‘प्रतिशोधपूर्ण र अमानवीय’ भन्दै भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताबाट निर्वाचित अध्यक्षजस्तो जिम्मेवार व्यक्तिको यो प्रतिशोधपूर्ण कार्य अत्यन्त दुःखद र निन्दनीय छ ।’
पार्टीले घाइते दुवै कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
एमालेले अनाहकमा रोजगारी गुमाएका कर्मचारीहरूले गरिरहेको आन्दोलनलाई ‘न्यायपूर्ण’ भन्दै पूर्ण ऐक्यवद्धता जनाएको छ । गाउँपालिकाले करार तथा अस्थायी दरबन्दीका कर्मचारी हटाएको थियो । हटाइएका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्धी समेत गरेका छन् ।


संगालोखबर 













