
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गत असोज २१ गते अस्थायी र करार कर्मचारीको सम्झौता रद्द भएपछि निकालिएका कर्मचारीहरूले तालाबन्दी गरेका हुन् ।
निकालिएका अस्थायी र करार सम्झौताका कर्मचारीले असोज २६ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेलाई चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर माग सम्बोधन नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत कर्मचारी प्रदीप ओझाले बताए ।
उनीहरूले बुझाएको ज्ञापन पत्रमा चालु आर्थिक वर्षको बजेटमा सम्पूर्ण करारका कर्मचारीका लागि स्रोत सुनिश्चितता भएकोले निरन्तरता दिनुपर्ने उल्लेख छ । यस्तै असोज २१ गतेको सूचनामा दरबन्दी बाहेकका कर्मचारीको हकमा मात्रै लागुहुने उल्लेख हुनुपर्ने माग गरेका थिए ।
यस्तै कार्यालयले दरबन्दी बाहेकका कर्मचारी हटाएकोमा पुनः विज्ञापन गरी सोही पदमा कर्मचारी राख्न नपाउने र दरबन्दी बाहेक पनि लामो समयदेखि कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको योगदानको सम्मान गर्दै बिदाई गरिनुपर्ने माग गरेका थिए । तर गाउँपालिकाले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरूले बताएका छन् ।
गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले माथिको पत्रअनुसार निर्णय भएकोले पछाडि हट्ने सम्भावना नरहेको बताए । उनले तालाबन्दीको विषयमा सुरक्षा निकाय र गृह मन्त्रालयमा जानकारी गराएको बताउँदै सबै सुरक्षाको जिम्मा माथिको निकायले गर्ने बताए ।
आन्दोलन, नारा, जुलुस र अनशनसम्म गाउँपालिकाले समाधान गर्ने भएपनि तालाबन्दी गाउँपालिकाले समाधान गर्न नसक्ने उनको भनाइ छ ।
गाउँपालिकाले सम्झौता रद्द गरेपछि स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारी बिदा हुँदा वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् ।
जसले गर्दा स्वास्थ्य चौकीहरूमा आवश्यक औषधी, प्रयोगशाला सेवा र वर्थिङ सेन्टरसमेत ठप्प भएका छन् । सामान्य औषधी लिनेदेखि सुत्केरी गराउन धनकुटा सदरमुकाम जानुपर्ने बाध्यता भएको स्थानीय बताउँछन् ।


सन्तोष सुवेदी/संगालोखबर 













