
धनकुटा । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट सुरु भएको छ । आठपहरियाको ५२ चुले घरमा माङ्लाङ् उठाएपछि मुख्य चाड वाडाङ्मेट सुरु भएको हो ।
आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरी तीनवटा चाड मनाउने गर्दछन् । जसमध्ये वाडाङ्मेट अर्थात मंसिरे चाडलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । मुख्यगरी धनकुटामा मात्रै बसोवास गर्ने आठपहरियाहरू वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तको सम्झनामा हिँडेर सुनसरीको बराहक्षेत्र पुग्ने गर्दछन् ।
बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री काटेर चोखिने गरेका छन् । उनीहरू आज धनकुटाबाट बराहक्षेत्रतर्फ बाटो लागेका छन् । बेलुका धनकुटाको साँगुरीगढी-९ स्थित आहाले र भञ्ज्याङ (सिमलबाँस) मा बास बस्छन् । पुन: सोमबार बिहानै त्यहाँबाट हिँडेर उनीहरू बराहक्षेत्र पुग्छन् ।
कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेसँगै बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बस्न आइपुग्ने गरेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताए ।

यस्तै मंगलबार देउता लिएर फर्की धनकुटा नगरपालिका-९ स्थित तमोर नदि किनारमा रहेको मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने उनले बताए । धनकुटामै हुनेले भने मंगलबार मार्गा पुजा गर्ने उनको भनाइ छ ।
बुधबार अर्थात् पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र आठपहरियाको कला, संस्कृति, भेषभुषा र रीतिथिति अनुसारको नाचगान गर्ने चलन छ ।
उक्त नाच औँसीसम्म घरैपिच्छे पुगेर नाच्ने गरिएको छ । धनकुटा नगरपालिकाले सीमान्तकृत जाति भित्र पर्ने आठपहरियाको मुख्य चाड वाडाङ्मेटको अवसरमा नगरभित्र सार्वजनिक बिदा समेत दिने गरेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













