
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा डिजे बजाएको विषयमा विवाद हुँदा एक परिवारका दुई सदस्यमाथि निर्घात कुटपिट भएको छ । विवादका क्रममा ३८ वर्षीय मुकेशकुमार साह र उनकी श्रीमती ३२ वर्षीया सीमादेवी साहमाथि कुटपिट भएको हो ।
प्रहरीका अनुसार सोही ठाउँका ५० वर्षीय बिन्देश्वर सरवरीया, उनकी श्रीमती ५० वर्षीया हिरामनी सरवरीया, छोरा ३० वर्षीय सुनिल र छोरी २६ वर्षीया सुनिताले कुटपिट गरेका हुन् ।
घटना कात्तिक १० गते साँझ करिब ५ बजेको हो । स्थानीयका अनुसार साह दम्पतीमाथि कुटपिट भइरहँदा बुधनगर प्रहरीको टोली घटनास्थलमै थियो । तर घटना हुँदा प्रहरी ‘मुकदर्शक’ बनेको स्थानीयको आरोप छ ।
घटनापछि बुधनगर प्रहरीले आरोपी सुनिल सरवरीयालाई नियन्त्रणमा लिएको थियो । पछि पीडित पक्ष उपस्थित नभएको भन्दै प्रहरीले उनलाई छाडिदिएको थियो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार कानुनी प्रावधान अनुसार २४ घण्टाबढी हिरासतमा राख्न नमिल्ने र पीडित पक्ष उपस्थित नभएपछि सुनिललाई छाडिएको थियो ।
विन्देश्वरसँगै घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सोही अनुरूप शुक्रबार अपराह्न सुनिललाई घरबाटै पक्राउ गरिएको डीएसपी चुडालले जानकारी दिइन् । साथै अन्य फरार व्यक्तिहरूको पनि खोजी भइरहेको उनको भनाइ छ ।
डीएसपी चुडालले घटनाको समयमा प्रहरी मुकदर्शक बनेको आरोपबारे पनि आन्तरिक अनुसन्धान भइरहेको जानकारी दिइन् । ‘घटनाको बेला उपस्थित प्रहरीलाई स्पष्टीकरण सोधिने छ’, उनले भनिन, ‘आवश्यक परे कारबाही प्रक्रिया अघि बढाइनेछ ।’

इन्दु साह/संगालोखबर 













