
धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।
गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो । सोही समस्यालाई मध्यनजर गर्दै श्रमदानमार्फत सडक मर्मत गरिएको युवाहरूले बताएका छन् ।
अहिले युवाहरूले अवरुद्ध सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो पन्छाउने, नाली काट्ने, सामान्य सोलिङ जस्ता मर्मत कार्य गरिरहेका छन् । गाउँ, बजारसम्म जोड्ने सडकहरू मर्मतका लागि विभिन्न टोल विकास समितिका युवाहरू जुटेका स्थानीय गणेश पौडेलले जानकारी दिए ।
विगतका वर्षहरूमा चाडपर्व अघि स्थानीय सरकारले अबरुद्ध सडकहरूको मर्मत गर्दै आएको भए पनि यस बर्ष पालिकाले खासै चासो नदेखाएको पौडेलको भनाइ छ ।
युवाहरूले चपरीचोक-सल्लेरी सडक खण्ड मर्मत गरेका छन् । स्थानीय सुजन बस्नेतका अनुसार सडक मर्मत नहुँदा साना तथा ठूला सवारी-साधन सञ्चालन हुन सकेका थिएनन् । सडक मर्मत भएसँगै सवारी-साधन सुचारु भएका उनले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













