
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ६ महिनापछि पुनः फेरी सञ्चालनमा आएको छ । गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।
अरुण नदीमा पक्की पुल नहुँदा फेरीकै भरमा सबारीसाधन आवत-जावत तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो ।
फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयले आवतजावतमा ठुलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनः सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई सहज भएको छ ।
फेरी बन्द हुँदा स्थानीय झोलुङ्गे पुलमार्फत पिठ्ँयूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । वि.स. २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ ।

संगालोखबर 













