सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ मा रहेको प्रदेश सङ्ग्रहालय ओझेलमा परेको छ । उचित व्यवस्थापन, प्रचार-प्रसार र संरक्षणको अभावमा सङ्ग्रहालय ओझेलमा परेको हो । यसलाई चलायमान बनाउन सरोकारवालाहरूले पनि बेवास्ता गर्दा अवलोकनमा आउनेहरूको संख्या पनि न्यून छ ।

सङ्ग्रहालय धेरै पुराना तथा लोप हुन लागेका विभिन्न सामग्रीहरू संरक्षण गरेर राख्ने ठाउँ हो । जहाँ जो-कोहीलाई पनि एक पटक गएर अवलोकन गर्ने चाहना हुन्छ । तर तीन दशकअघि धनकुटा सदरमुकाममा पूर्वाञ्चल क्षेत्रीय सङ्ग्रहालयका नाममा स्थापित प्रदेश सङ्ग्रहालयमा अवलोकन गर्न जानेको संख्या न्यून छ ।

Advertisement

धनकुटा पर्यटकीय नगरी पनि हो । भेडेटार, नमस्ते झरना, राजारानी ताल, ध्वजे डाँडा, हिलेको तोङवा, पाख्रिबास कृषि केन्द्र लगायतका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा वाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

तर सबैका लागि खुल्ला रहेको सङ्ग्रहालय अवलोकनमा आउनेको संख्या दैनिक १५÷२० जना मात्रै हुने गरेको छ । सङ्ग्रहालयमा विभिन्न १६ जातजातिको भेषभुषा, संस्कृति झल्काउने वस्तुसहित सुन चाँदीका गहना पनि छन् ।

सङ्ग्रहालयको अवलोकनमा आउने नेपाली नागरिकलाई १० रुपैयाँ, विद्यार्थीहरूको लागि ५ रुपैयाँ र बाह्य पर्यटकहरूको लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ । प्रचार अभाव र स्थानीयको बेवास्ताले सङ्ग्रहालय ओझेलमा परेको स्थानीय रमेशचन्द्र अधिकारीले बताए ।

सङ्ग्रहालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २ सय ३२ विद्यार्थी र ७ सय आन्तरिक पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । सङ्ग्रहालयका ९ जना कर्मचारीको तलब सुविधासमेत वार्षिक व्यवस्थापन खर्च ३५ लाख लाग्ने गरेको छ ।

आर्थिक व्यवस्थापन र पूर्वाधार अभावका कारण सङ्ग्रहालयले डेढ दशकयता पुरातात्विक वस्तुको अनुसन्धान र जीर्णोद्धार गर्न नसकेको सङ्ग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!