
विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा भरुवा बन्दुकले हानेर बुबाले आफ्नै छोराको हत्या गरेका छन् । आइतबार अपराह्न ५२ वर्षीय बखतसिंह सिंगकले १७ वर्षीय छोरा सफल सिंगकको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर घर पछाडिको बारीमा बखतसिंहले छोरालाई बरुवा बन्दुक प्रहार गरेका थिए । बरुवा बन्दुकले लागेर सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर रूपेश तामाङले जानकारी दिए ।
‘सुरुमा बुबा–आमाबीच झगडा भएको रहेछ’, इन्स्पेक्टर तामाङले संगालोखबरसँग भने, ‘त्यही विषयलाई लिएर पछि मापसे गरेर छोरामाथि भरुवा बन्दुक प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बखतसिंहलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका बखतसिंहलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइँदै गरिएको तामाङले जानकारी दिए ।
मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए ।

संगालोखबर 













