
धनकुटा । झिलीमिली बत्तिको पर्व तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी भैलो पनि हो । तर पछिल्लो समय आधुनिकतासँगै यसको मौलिकता हराउँदै गएको छ ।
तिहार शुरु भएसँगै गाउँ तथा बजारका टोलबस्तिहरूमा देउसी र भैलो खेल्ने बालबालिकादेखि बूढापाकाको समूह हुन्थ्यो । जहाँ देउसी भैलोको मौलिकता झल्किन्थ्यो । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल म्युजिकबाट नेपाली, हिन्दी आधुनिक र र्याप गीत बज्ने गरेका छन् ।
सोरठी, पैसेरी, मयुर, मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । तिहारमा खेलिने देउसी भैलो मौलिकता नभइ आधुनिकता र दक्षिणाको लागि मात्रै खेल्नेको जमात बढेको स्थानीय नागरिक समाज धनकुटाका अध्यक्ष द्रार्ण गुरागाइँले बताए ।
‘तिहार भनेको विशेषतः चेली र माइती बीचको अटुट सम्बन्धको गाँठो समेत हो’, उनले भने, ‘वर्षभरी गरेको कामको उल्लासमय फुलको रमझममा रमाउन देउसी भैलो खेल्ने गरिन्थ्यो । अहिले मौलिकता पाइँदैन ।’
कला संस्कृति बचाउन महिला समूह, युवा पुस्ता पनि केही मात्रामा लागेका छन् । संस्कार र संस्कृति बचाउन सबै लाग्नुपर्ने नागरिक समाजका अध्यक्ष गुरागाइँको भनाइ छ । आधुनिक देखिने चाहना र प्रविधिको विकाससँगै देखासिकीका कारण मौलिकता हराएको उनको भनाइ छ ।
अझ पछिल्लो वर्षमा रकम बढी उठोस् भनेर नै देउसी भैलोमा विदेशी गीतसङ्गीत र नाचको प्रयोग गर्ने गरिएको पाइन्छ । प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो तर आफ्नो मौलिकता भुल्नु भनेको पहिचान संकटमा पार्नु हो ।
विदेशी संस्कृतिको अनुसरण गरे पनि मौलिक देउसी भैलोको खास महत्व र मर्म भने हराउन नदिन सबैपक्ष लाग्नुपर्ने स्थानीय ऋषिराम ढुङ्गानाले बताए । मौलिकता र नेपालीपन जोगाउन युवापुस्ता नै नलागे केही नहुने उनको भनाइ छ ।

सन्तोष सुवेदी/संगालोखबर 













