सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । एउटै घर दुई जिल्लामा पर्छ भन्दा विश्वास नलाग्न सक्छ । तर धनकुटाको चौबिसे गाउँपालिका-१ स्थित छ नम्बर बुधबारे बजारका झण्डै २२ घर दुई जिल्लामा पर्दछन् । त्यहाँ बनेका घरको आधा भाग धनकुटा र आधा भाग पाँचथर जिल्लामा पर्दछ ।

जसका कारण स्थानीयहरूले लामो समयदेखि आर्थिक तथा प्रशासनिक कामको झमेला खेप्न बाध्य छन् । छविलाल गुरुङको घर आधा धनकुटा र आधा पाँचथरमा पर्दछन् ।

Advertisement

गुरुङको घरको एकापटि्टको बलेसि पाँचथर र अर्को पटीको बलेसि धनकुटामा झर्छ । उनको घरको धुरीले जिल्लाको सिमाना छुट्याएको छ । ‘वर्षौँदेखि बसोबास गर्दै आएको एउटै घरको तिरो दुई जिल्लामा तिर्नुपर्छ’, उनले भने, ‘जसका कारण हामीलाई धेरै समस्या भएको छ ।’

फिवराज थेगिनको पीडा पनि उस्तै छ । रबि-राके सडक खण्डमा पर्ने बुधबारे बजारमा बनेका घरको आधा भाग चौबिसे गाउँपालिका र अर्को भाग पाँचथरको मिक्लाजुङमा पर्ने उनले बताए । ‘आर्थिक, प्रशासनिक कामका लागि धेरै नै झन्झट बेहोर्नु परिरहेको छ’, थेगिनले भने, ‘तिरो तिर्न दुई जिल्ला धाउनुपर्छ । घरजग्गा कारोबारमा पनि त्यत्तिकै समस्या छ ।’

पाँचथरभन्दा धनकुटा नजिक पर्ने भएकाले सम्पूर्ण काम धनकुटाबाटै गर्ने वातावरण बनाइदिन स्थानीले अनुरोध गर्दै आएका छन् । ‘७५ जिल्लालाई ७७ बनाउँदा भयो’, उनले थपे, ‘३/४ वटा वडालाई एउटा वडा बनाउन किन नमिल्ने ? जनताको सहजताका लागि सरकारले यस विषयमा सोच्न आवश्यक छ ।’

विष्णुकुमार श्रेष्ठको करिब साढे ३ आनामा बनेको घर पनि दुई जिल्लामा पर्छ । वर्षौँदेखि सम्बन्धित निकायमा धाउँदा पनि समस्या समाधानका लागि कुनै पहलकदमी नभएको उनको गुनासो छ ।

‘तिरो, जग्गा बेचबिखन, नामसारी, जग्गा राजीनामा पास, नापी, मालपोतका काममा समस्या भोग्नुपरेको छ’, उनले भने, ‘राज्यले यस विषयमा सोच्नुपर्ने आवश्यकता छ ।’ स्थानीय ज्योति श्रेष्ठले एउटा घर दुई जिल्लामा हुँदा बजारको विकास निर्माणमा प्रत्यक्ष असर परेको बताइन् ।

चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार विष्णुकुमार श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, रेवत श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, पुष्पा श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको घर दुई जिल्लामा पर्छ ।

यस्तै माला चौलागाईं, कर्ण लिम्बू, भुवान श्रेष्ठ, तुलसीनारायण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अर्जुन श्रेष्ठ, ललितबहादुर वारी, जितबहादुर माखिम, छविलाल गुरुङ, लेलकन माखिम, उत्तमकुमार श्रेष्ठ, रामबहादुर वारी, रामेश्वर वारी लगायतका करिब २२ घर दुई जिल्लामा रहेका अध्यक्ष राईले जानकारी दिए ।

पूर्वको प्रशासनिक थलो रहेको छ नम्बर बुधबारे बजारलाई २०२९ सालमा दुई जिल्लामा समायोजन गरिएको थियो । उक्त बजार दुई जिल्लाको व्यापारिक केन्द्र समेत हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!