
काठमाडौं । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइना शर्माले नेपालमा निजी स्वास्थ्य संस्थामाथि सरकारले चलाइरहेको नीति र व्यवहारप्रति कडा आपत्ति जनाएकी छन् । देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड निजी क्षेत्र भएपनि सरकारले उल्टै यही शक्तिलाई कमजोर पार्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (काठमाडौं) जस्ता ठूला सरकारी अस्पतालहरू पनि आफ्ना कर्मचारीलाई तलब र भत्ता दिन नसक्ने अवस्थासम्म पुगेका छन् । केही हप्ता अघि मात्रै पाटन अस्पतालका रेसिडेन्ट डाक्टरहरू तलब नपाएर आन्दोलनमा उत्रिएको उल्लेख गरेकी छन् ।
‘सरकारी सरह सुविधा दिनुपर्ने जिम्मेवारीबाट भाग्दै ‘करारमा कर्मचारी राख्ने’ प्रवृत्ति सरकारी संस्थामै छ’, उनले भनिन्, ‘तर एउटै निजी संस्था, जसले सारा सरकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले एक पैसा अनुदान नदिँदा पनि आफ्नै लगानीमा विश्वस्तरका स्वास्थ्य उपकरण किनेर देशको स्वास्थ्य क्षेत्रमा ७० प्रतिशत योगदान दिइरहेको छ । तर त्यसलाई उल्टै निथार्ने नियम बनाइन्छ ?’
कोठाभित्र कुर्सीमा बसेर चिठी काट्दै देशको स्वास्थ्य प्रणालीमा सुधार नहुने उनले बताइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न दशकौँ लागेको भएपनि स्वास्थ्य बीमाको रकम नआएर आज त्यो संस्था अङ्गविहीन जस्तो भएको उनको भनाइ छ ।
शर्माले नेपालको जनसङ्ख्या, बीमाको पहुँच र आम नागरिकको आर्थिक हैसियतलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताइन् । उनका अनुसार नेपालमा एक सामान्य नागरिकले महिनामा १५०/२०० डलर बराबरको बीमा तिर्न सक्ने अवस्था छैन ।
निजी क्षेत्रलाई नियमको जालोमा बाँधेर, अनुदान नदिई कमजोर बनाउने खेल चलिरहेको भन्दै यस्तो प्रवृत्तिले देशको स्वास्थ्य प्रणाली पतनतर्फ धकेलिने उनको तर्क छ ।

संगालोखबर 













