
विराटनगर । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा एक महिला मृत फेला परेकी छन् । सोमबार ५२ वर्षीया रत्नकुमारी कटुवाल आफ्नै घरमा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा फेला परेका छ । शव भेटिएको स्थान र अवस्था शंकास्पद देखिएपछि थप प्रमाण जुटाउनका लागि तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ ।
‘धरानबाट तालिम प्राप्त कुकुर झिकाइसकेका छौं । अहिले कुकुर लिएर घटनास्थलतर्फ जाँदै छौं’, ओखलढुङ्गाका प्रहरी प्रमुख डीएसपी मदन केसीले संगालोखबरसँग भने, ‘शव घटनास्थलमै छ । घटनास्थललाई सुरक्षित राखेका छौं ।’
केही वर्षअघि पतिको निधन भएपछि उनी एक्लै बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । थप प्रमाण संकलन भएपछि मात्रै बाँकी कुरा खुल्ने डीएसपी केसीले जानकारी दिए । घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ ।

संगालोखबर 













