
विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृह र कटहरीको कृषि बजारलाई वैकल्पिक स्थलको रूपमा प्रस्ताव गरिएको छ । जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालय जलेर पूर्णरूपमा ध्वस्त भएपछि वैकल्पिक स्थलका रूपमा दुई स्थानलाई तोकिएको हो ।
प्रदेश सभाको आन्तरिक छलफल अनुसार वीरेन्द्र सभागृहलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारिएको कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले जानकारी दिए ।
आगजनीका कारण सभाहल र सचिवालय दुवै प्रयोग गर्न नमिल्ने भएपछि वैकल्पिक स्थलका रूपमा कृषि बजार र वीरेन्द्र सभागृहबीच कुन ठाउँ उपयुक्त हुन्छ भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।
‘प्रदेश सभाको नियमित कार्य रोकिएको छ, त्यसैले तत्काल वैकल्पिक स्थल टुङ्ग्याउन आवश्यक छ’, अमात्यले संगालोखबरसँग भने, ‘सोमबार सचिवालय व्यवस्थापन समितिको बैठक बस्नेछ । जसमा वैकल्पिक स्थलको विषयमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ ।’
विरेन्द्र सभागृहलाई अस्थायी प्रदेश सभाको हलका रूपमा प्रयोग गर्ने निर्णय भएमा भाडा दर निर्धारण गरेर विराटनगर महानगरसँग समन्वय गरिने अमात्यले जानकारी दिए ।
अहिलेसम्म कोशी प्रदेश सभा र सचिवालय कहाँबाट सञ्चालन हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

इन्दु साह/संगालोखबर 













