
उदयपुर । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी उदयपुरबाट पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका ९ जना कैदीबन्दी पक्राउ परेका हुन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध, सवारी अङ्गभङ्ग लगायत मुद्दाका कैदीबन्दी छन् ।
जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका चौदण्डीगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सार्की र कर्तव्य ज्यान मुद्दाका बन्दी लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै नख्खु कारागारमा डाँकाचोरी मुद्दामा ५५ हजार जरिवाना र ५ वर्ष ६ महिना कैद सजाए तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीय सञ्जीव दर्जी र जबरजस्तीकरणी मुद्दाका बन्दी त्रियुगा नपा १ जोगिदहका ३१ वर्षीय दिलिप कार्की पक्राउ परेका छन् ।
झुम्का कारागार सुनसरीमा जबरजस्ती करणी मुद्दामा नौ वर्ष १० महिना आठ दिन सजाए तोकिएका सुनसरी धरान उपमहानगरपालिका ८ का ३२ वर्षीय प्रविण सुन्दास, सोही मुद्दाका बन्दी बेलका नपा ३ का ४० वर्षीय योगेन्द्र राई, अर्का बन्दी चौदण्डीगढी नपा १ काभ्रेका ३७ वर्षीय धनबहादुर राई र लागूऔषध मुद्दाका बन्दी बेलका नपा ९ कमलावारीका २८ वर्षीय नरेश बिक पक्राउ परेका उदयपुर प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला कारागार बैतडीमा सवारी अङ्गभङ्ग मुद्दाका बन्दी रौतामाई गाउँपालिका ८ का २४ वर्षीय प्रेमबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













