
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले चाडपर्वको मुखमा सुरक्षा चुनौती थपिएको भन्दै विराटनगरवासी चिन्तित देखिएका छन् । मौकाको फाइदा उठाएर चोरी, डकैती लगायतका आपराधिक घटना हुन सक्ने भन्दै चिन्तित देखिएका हुन् ।
आन्दोलनका क्रममा प्रहरीको मनोबल कमजोर भएका कारण सक्रिय भएर काम गर्ने वातावरण नहुँदा चिन्ता थपिएको उनीहरू बताउँछन् । आन्दोलनपछि विराटनगरमा ट्राफिक व्यवस्थापनदेखि शान्ति सुरक्षासमेत कमजोर महसुस भएको सामाजिक अभियन्ता समेत रहेका स्थानीय सुशील केसीले बताए ।
‘आन्दोलनका क्रममा प्रहरीलाई लखेटिएको थियो । त्यसले उनीहरूको मनोबलमा असर पारेको छ’, केसीले भने, ‘त्यही कारणले पनि केही चुनौती थपिएको छ । तर विस्तारै अवस्था सामान्य हुँदै गएकाले प्रहरी पुनः सक्रिय हुने अपेक्षा गरिएको छ ।’
जेनजी आन्दोलनपछि प्रहरीको गतिविधि र उपस्थिति कम देखिएको स्थानीय कुमारप्रसाद ज्ञवालीले बताए । ‘चाडपर्वमा मौकाको फाइदा उठाउँदै चोरी, डकैतीसँगै आपराधिक गतिविधि बढ्ने सम्भावना हुन्छ’, उनले भने, ‘यसका लागि स्थानीय पनि सचेत हुनुपर्ने अवस्था देखिन्छ ।’
मोरङ प्रहरीले भने ढुक्कसँग चाडपर्व मनाउन आग्रह गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले ढुक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण रहेको बताए । उनले आवश्यक स्थानमा प्रहरी खटाइने र शान्ति सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गरे ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले आन्दोलनका कारण प्रहरीको मनोबल कमजोर भएपनि अब त्यसलाई चिर्दै थप उर्जा र प्रतिवद्धताका साथ ड्युटीमा खटिने बताइन् ।
‘प्रहरी अझ थप उर्जा र मनोबलसहित ड्युटीमा खटिएको छ’, उनले भनिन्, ‘हरेक नागरिक पनि सचेत हुन आवश्यक छ । घरबाहिर जाँदा पनि छिमेकीसँग समन्वय गर्नुहुन आग्रह गर्दछु ।’
उनले बहुमूल्य सामग्री सुरक्षित स्थानमा राख्न र सजग रहन आग्रह गरिन् । यस्तै कुनै कामले बाहिर जानुपर्दा छिमेकीसँग समन्वय गर्न पनि उनले सुझाव दिइन् ।

इन्दु साह/संगालोखबर 













