
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । आज सिधुवा बजर क्षेत्रका करिब एक दर्जन बढी किरान तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेय पदार्थ जफत गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य बस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताए
यस्तै पसलहरूमा मूल्यसूची समेत नराखेको पाइएको उनको भनाइ छ । कैफियत भेटिएका पसलहरूलाई सचेत गराउँदै आगामी दिनमा यस्तो पाइए कारबाही गर्ने चेतावनी दिइएको छ । अनुगमनका क्रममा जफत भएको सामान नष्ट गरिएको छ ।
धनकुटामा चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको कोइरालाले बताए । घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घ, कर कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सामूहिक रूपमा बजार अनुगमन गरेको हो ।

सन्तोष सुवेदी/संगालोखबर 













