
धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बुधबार धनकुटा नगरपालिका-६ र ७ तथा वडा नम्बर ९ स्थित मूलघाटमा सञ्चालित ४१ वटा पसल तथा होटलहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा बिस्कुट, चिप्स, आटा लगायतका अखाद्य बस्तु भेटिएका छन् । यस्तै उत्पादन मिति र समाप्त मिति नराखिएका सामग्री पनि फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिए ।
उनका अनुसार होटलमा पुनः प्रयोग गरिएको १४ लिटर तोरीको तेल पनि भेटिएको छ । उनले २० होटल, ३ मिठाई पसल र १५ वटा खाद्य तथा किराना पसल र ३ वटा मासु पसलको अनुगमन गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा मूल्यसूची नराखेको पनि पाइएको छ । उनले कैफियत पाइएका पसल तथा होटलहरूलाई सचेत गराइएको बताए । उनले आगामी दिनमा सुधार नभए कारबाही गर्ने चेतावनी दिए ।
चाडपर्वका समयमा अखाद्य बस्तु बिक्रीवितरण हुन सक्ने भन्दै बजार अनुगमनलाई तीब्र पारिएको नगरपालिकाका सामाजिक विकास अधिकृत राजु गुरागाइँले बताए । अनुगमनका क्रममा जफत भएको करिब ३४ हजार बराबरको सामग्री नष्ट गरिएको छ ।
धनकुटा नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालयले सामूहिक रुपमा बजार अनुगम गरेका हुन् ।

सन्तोष सुवेदी/संगालोखबर 













