सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मोक्तेनमा पहिरोको जोखिममा रहेका नौ घर स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि तलबाट पहिरोले बस्ती नै तानेपछि स्थानान्तरण गरिएको हो ।

केवल प्रसाद मगर, मोहन मगर, विष्णु बहादुर मगर, कुमारी मगर, राज कुमार मगर, भीम बहादुर मगर, प्रेम बहादुर मगर, रण बहादुर मगर र ज्ञान रानाको घर पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।

Advertisement

यस्तै एउटा सामुदायिक चर्च समेत पहिरोको जोखिममा छ । रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले तान्दा घरहरू जोखिममा परेका साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

‘गतवर्ष नै लगातारको वर्षाका कारण घरहरू केही कमजोर भएका थिए’, अध्यक्ष राईले भने, ‘पहिरोको जोखिममा परेका ९ घरका ४२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।’

पहिरोले बस्ती तान्दा घरहरू भत्किनुका साथै चिरा परेर बस्नै नमिल्ने भएका छन् । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उनीहरूलाई स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जोखिममा परेकाहरूलाई उद्धार गरिएको बताए । राहतका लागि सम्पूर्ण जिम्मा तथा अधिकार स्थानीय सरकारलाई न दिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!