
सिराहा । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको खुलेको छ । आज बिहान घरभन्दा केही पर रहेको आँप बगैँचामा बालकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि उनी फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए ।
अपहरण पश्चात हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हत्या गरिएका बालकका आफन्त र छिमेकीसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
घर नजिकै शव फेला परेकाले बालकको हत्यामा आफन्त वा छिमेकीको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













