
विराटनगर । भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको घुँइचो सँधै लाग्छ । चाडपर्वको बेला अन्य समयको तुलनामा थेगिनसक्नु भीड हुन्छ । दशैँ सुरु भएसँगै आवश्यक सामान खरिदका लागि विराटनगरसहित अन्य स्थानका उपभोक्ता पनि जोगबनी पुग्छन् । यता विराटनगर बजारमा भने अपेक्षाकृत व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् ।
उपभोक्ता नेपाली बजारको तुलनाका निक्कै सस्तोमा उपभोग्य सामान जोगबनीमा पाउने बताउँछन् । दशैँका लागि किनमेल गर्न आएकी रेखा पौडेलका अनुसार नेपाली बजारमा भन्दा जोगबनीमा सस्तोमा सामान पाइन्छ । त्यही भएर मोरङको सलकपुरबाट खाद्यान्न र कपडा लगायतका सामान किन्न जोगबनी आएको उनले सुनाइन् ।
‘नेपाली बजारमा चिनी प्रतिकिलो १२० रुपैयाँसम्म पर्छ’, उनले भनिन्, ‘जोगबनीमा ६५ रुपैयाँमा पाइन्छ । दाल, चामल, कपडा लगायतका सामान पनि यहाँ सस्तो पर्छ । त्यही भएर जोगबनीमा आउनेको संख्या पनि धेरै भएको हो ।’
नेपालकै बजारमा सहुलियतमा सामान पाए जोगबनी आउने बाध्यता नहुने उनले बताइन् । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण रानी नाकामा पहिला जस्तो कडाइ पनि छैन । जसले तस्करी पनि बढाइरहेको स्थानीय जानकारहरूको भनाइ छ ।
विराटनगर–१२ की मिना भट्राज पनि जोगबनीमा सहुलियतमा सामान पाउने तर्क गर्छिन् । ‘विराटनगरमा जोगबनीभन्दा झण्डै दोब्बर मूल्यमा सामान खरिद गर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘नजिकैको बजार भएकाले पनि नेपालमा भन्दा जोगबनीमै सामान खरिद गर्छौँ ।’
विराटनगरकै तृप्ति पोखरेलको तर्क पनि उस्तै छ । नेपाली बजारमै किनमेल गर्ने सोच भएपनि धेरै महङ्गीका कारण जोगबनी रोजाइमा पर्ने उनी बताउँछिन् । आवश्यक घरायसी सामान किनमेलका लागि जोगबनी आइरहने उनले सुनाइन् ।
यी त केही उदाहरण मात्र हुन् । जोगबनी किनमेल गर्न जाने नेपाली उपभोक्ताको तर्क एउटै छ, सामान सस्तोमा पाइन्छ । विराटनगरका व्यवसायीहरू जोगबनीका कारण व्यवसायमा प्रत्यक्ष असर परेको बताउँदै आएका छन् ।
जेनजी आन्दोलनका कारण केहिदिन ठप्प भएको व्यवसाय विस्तारै अवस्था सामान्य बन्दै जाँदा पनि अपेक्षाकृत हुन नसकेको विराटनगरका व्यापारी प्रशान्त जोशीले बताए । ‘जेनजी आन्दोलनले केहिदिन प्रत्यक्ष असर पार्यो’, उनले भने, ‘दशैँ सुरु हुनुभन्दा केहिदिन अघिबाट नै भीडभाड हुन्थ्यो । यसपटक विगतको भन्दा कम भएको जस्तो लाग्छ ।’
भन्सार बुझाएर सामान ल्याउँदा जोगबनीमा भन्दा तुलनात्मकरूपमा सामान महँगो पर्नु स्वभाविक भएको व्यापारीहरू बताउँछन् । रानी भन्सारका अनुसार एक सय रुपैयाँभन्दा बढीको सामान भन्सार नबुझाई ल्याउन नपाउने नियम छ । यस्तै दैनिक उपभोग्य बस्तुमा १५ देखि ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने हुन्छ । तर नियमन गर्ने निकायले चासो नदेखाउँदा नियम कार्यान्वयन हुन सकेको छैन ।
भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा अहिले केही समस्या भएको छ । उनले नाका कडाइ नै रहेको बताए । बोर्डर आउट पोष्ट रानीका सशस्त्र प्रमुख डीएसपी विकास खतिवडाले चाडपर्वका कारण अहिले घरायसी सामान ल्याउने उपभोक्ताको संख्या बढेको बताए ।

इन्दु साह/संगालोखबर 













