
धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ । आज बिहान ९ बजेर १३ मिनेटको उत्तम साइत पारेर मन्दिरको दशैँ घरमा जमरा राखिएको हो ।
धनकुटा नगरपालिका-६ बिच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिँदै आएको छ । मन्दिरमा घटस्थापनाको दिन विधिपूर्वक धान, जौ र मकैको जमरा राखिएको छ ।
आज राखिएको जमरा दशैँको टीकाको दिन देवीको प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । मन्दिरमा रहेको दशैँ घरमा बजारका स्थानीयहरूले जमरा राखेका छन् ।
मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवी भागवत र अन्य देवी स्तोत्रको पाठ गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखि नवौँ दिनसम्म विभिन्न देवीदेवताको पूजाआराधना गरिने मन्दिरका पण्डित शुनिलकान्त डुबेले जानकारी दिए ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता देवीको पुजा आराधना गरिन्छ । छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने पण्डित डुबेले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













